कालीगण्डकीको बहाव यस वर्षकै उच्च
काठमाडौं । लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो ।
आज बिहान कालीगण्डकी नदीमा पानीको बहाव यस वर्षयताकै उच्च विन्दुमा पुगेको हो । बिहानदेखि नदीको सतहदेखि ६ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाव भइरहेको जनाइएको छ ।
कालीगण्डकी नदीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका हुन् ।
बहावले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत चिन्तित बनेका छन् । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबाएको छ । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबियन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्ण रूपमा क्षति पुगेको छ ।

.gif)