नेपाल–चीन सीमा सुरक्षा बैठक : विपद् व्यवस्थापन, सीमा सुरक्षा र नाका सञ्चालनबारे छलफल
काठमाडौँ । नेपाल–चीन सीमा सुरक्षा बैठकमा विपद् व्यवस्थापन, सीमा सुरक्षा र नाका सञ्चालनबारे छलफल भएको छ ।
बैठकमा दुवै मुलुकका अधिकारीबीच नेपाल–चीन सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, दैवी प्रकोप नियन्त्रण, तिर्थयात्रा, व्यापार प्रवद्र्धन र नाका सञ्चालन लगायत विषयमा छलफल गरिएको हो । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा शुक्रबार चीनको झाङ्मुस्थित प्रशासनिक भवनमा दुवै देशका सुरक्षा अधिकारीहरूबीच बैठक भएको हो ।
बैठकमा दुवै पक्षले आपसी सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धतासहित विपद् व्यवस्थापन, सीमा सुरक्षा, पर्यटन र व्यापार प्रवद्र्धन, सूचना आदान–प्रदान तथा जनस्तरको सम्बन्ध विस्तारका लागि कुराकानी भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण थापाका अनुसार, मानसरोवर जाने भारतीय तिर्थयात्रुहरूको संख्यामा वृद्धि भएकोप्रति चिनियाँ पक्षले चासो व्यक्त गरेको थियो । सीमा सुरक्षासम्बन्धी अपराध नियन्त्रण, आयात–निर्यात व्यवस्थापन, तथा दैवी प्रकोपको सन्दर्भमा चिनियाँ पक्षले विशेष चासो देखाएको छ ।
बैठकमा चिनियाँ क्षेत्रमा रहेको हिमनदीसम्बन्धी सूचना आदान–प्रदानका लागि पनि सहमति भएको छ । केरुङ नाका अवरुद्ध भएकाले चाडपर्वलाई ध्यानमा राखी आवश्यक सामग्री ढुवानीका लागि कन्टेनर संख्या बढाउन नेपाली पक्षले आग्रह गरेको थियो । निर्यात–आयात प्रक्रिया सहज बनाउने र नाकालाई व्यवस्थित एवं सञ्चालनमैत्री बनाउने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ ।

.gif)