गोसाइकुण्डमा डुबेका दाजुभाइको शव काँधमै बोकेर धुन्चे ल्याउँदै
काठमाडौं । रसुवाको गोसाइकुण्डमा नुहाउने क्रममा यही आइतबार डुबेर ज्यान गुमाएका दुईजना दाजुभाइको शव नेपाली सेनाको टोलीले काँधमा बोकेरै सदरमुकाम धुन्चे ल्याउँदै छ ।
मोरङको बेलबारी र विराटनगर ती दाजुभाइ सुजन ढकाल र मनोज न्यौपानेको शव सेनाले स्ट्रेक्चरमा बोकेरै चन्दनबारी गुम्बासम्म ल्याइसकेको छ। उनीहरू मामा र फुपूका छोरा हुन् । आइतबार गोसाइकुण्डमा चिप्लिएर एकजना डुबेपछि बचाउन पसेका अर्काको पनि ज्यान गएको थियो । विराटनगर महानगरपालिका(३ का २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका(११ का २८ वर्षीय मनोज न्यौपानेले गोसाइकुण्डमा डुबेर ज्यान गुमाएका थिए ।
उनीहरू डुबेको खबर पाएपछि धुन्चेबाट गएको सेना र प्रहरीको टोलीले सोमबार बिहान १० बजे शव निकालेको थियो । गोसाइकुण्ड गाउँपालिका–५ बाट धुन्चे ल्याउन सेनाले स्ट्रेक्चरको सहयोग लिएको हो । हेलिकप्टर लैजान सम्भव भए पनि पहल नहुँदा सेनाले स्थलमार्गबाट बोकेरै ल्याएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले दुवैजनाको शव स्ट्रेचरमार्फत् पालैपालो बोकेर चन्दनबारी गुम्बामा ल्याएको थियो ।
अब उनीहरूको शवलाई बुधबार बिहान धुन्चे झार्न थप टोली त्यसतर्फ गएको छ। शनिबार ढकाल र न्यौपानेसहित १३ जना युवा साउने तीर्थका लागि काठमाडौंबाट रसुवा गएका थिए । ११ साउन आइतबार बिहान उनीहरू रसुवाबाट गोसाइकुण्ड पुगेका थिए । कुण्डमा नुवाउने क्रममा डुबेपछि बाँकी साथीहरूले घटनाबारे आफन्त र साथीलाई जानकारी गराएका थिए ।

.gif)