‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका १० जिल्लामा १८ हजारभन्दा बढी गाईभैँसी सङ्क्रमित
काठमाडौं । गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका १० जिल्लामा यो वर्ष १८ हजारभन्दा बढी गाईभैँसी सङ्क्रमित भएका छन् । तीमध्ये ४२० मरिसकेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।
झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण तीव्ररूपमा फैलिएको छ । सबैभन्दा बढी झापामा १३ हजार ११८ वटा गाईभैँसीमा ‘लम्पी स्किन’ सङ्क्रमण भएको छ । मोरङमा एक हजार ९५८, इलाममा एक हजार ६६५, सुनसरीमा एक हजार १००, उदयपुरमा ५०१, खोटाङमा ३५५, भोजपुरमा ७३, ताप्लेजुङमा ४५, धनकुटामा ३३ र सबैभन्दा कम पाँचथरमा १० वटा पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको जनाइएको छ ।
यो रोगबाट दश जिल्लाका १८ हजार ७४५ गाईगोरु र १७६ वटा भैँसीराँगामा रोगको सङ्क्रमण देखिएको छ । रोग नियन्त्रणका लागि प्रभावित जिल्लाका दुई लाख ९३ हजार २२३ गाईगोरु र राँगाभैँसीमा ‘लम्पी स्किन’ विरुद्धको निःशुल्क खोप लगाइएको छ । यो रोग लागेका गाईगोरुमा उच्च ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा घाउ भएर पिप र रगत बग्ने गर्छ ।

.gif)