‘एआई’ले ट्राफिक प्रहरीलाई आराम
काठमाडौं । ललितपुरका मुख्य सडक चोक जावलाखेल, पुलचोक दमकलचोक, एकान्तकुना, भैँसेपाटीमा खटिने ट्राफिक प्रहरीलाई आजभोलि आराम मिलेको छ ।
सिंहदरबार–ललितपुरस्थित मन्त्रीनिवासमा मन्त्री तथा विशिष्ट व्यक्तिको दैनिक ओहोरदोहोर र अन्य सवारीको चाप व्यवस्थापनमा खटिनुपर्ने ट्राफिक प्रहरीको बोझ ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिष्टम’ ले हटाइदिएको छ ।
दैनिकमा सकाचार छ, कृत्रिम बौद्धिकता (एआई) मा आधारित ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ ले सवारीको चाप हेरेर बाटो बन्द गर्ने र खुलाउने काम स्वचालित रूपमा गर्न थालेपछि ट्राफिक प्रहरीलाई सडकमा उभिएर हात हल्लाउने, सिठी फुक्नुपर्ने बाध्यता हटेको हो । ललितपुर महानगर सुरक्षा बल प्रमुख सीताराम हाछेथुका अनुसार मुख्य आठ स्थानमा जडान गरिएका स्मार्ट ट्राफिक लाइट सिस्टमलाई सवारीको चाप भएको दिशातर्फ हरियो र कम भएतर्फ रातो बल्नेगरी जडान गरिएको छ ।
‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानपछि सवारी दुर्घटनाको दरसमेत निकै कम भएको हाछेथुको दाबी छ। स्मार्ट ट्राफिक लाइटमा बढीमा ३० देखि ४० सेकेन्डमा रातो बत्ती हरियो हुने भएका कारण पैदलयात्री र सवारीचालकलाई पट्यार नलाग्ने र आवतजावत निकै सहज हुने गरेको छ । ललितपुर महानगरपालिकाले यस वर्ष ग्वार्को, बल्खु, सातदोबाटोलगायतका थप तीन स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने तयारी छ ।
यससँगै भेइकल डिटेक्टर मेसिन जडान गरी सडकमा सवारीसाधन सङ्ख्या गणना गरेर तत्काल सर्भरलाई जानकारी गराउने व्यवस्था छ । कार्यालय समयमा काठमाडौंतर्फका सवारीले ट्राफिक लाइटमा धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा भने बढीमा एक मिनेट पर्खिनुपर्ने गरी सञ्चालन गरिएको छ ।
स्वचालित लाइट परम्परागतभन्दा फरक र सजिलो रहेको र यसले भेइकल डिटेक्टर गरी सवारीसाधनको नम्बर तथा विवरण रिड गर्ने र कुन दिशातर्फ कति टाइमिङ चाहिने हो, आफैँ सेट गर्छ । यस्तो प्रविधि नेपालमा पहिलो रहेको ललितपुर महानगरको दाबी छ ।

.gif)