कर्णाली विकास बैंकमा सवा तीन अर्ब हिनामिना
काठमाडौँ । कर्णाली विकास बैंकमा सवा तीन अर्ब रुपैयाँ हिनामिना भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को अनुसन्धानले देखाएको छ ।
सीआइबीले बैंकका विभिन्न समयका सञ्चालक, कर्मचारी र अन्य व्यक्तिको मिलेमतोमा ३ अर्ब २० करोड रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको हो । सीआइबीले अनुसन्धान सकेर बिहीबार विशेष सरकारी वकिल कार्यालय नेपालगंजमा प्रतिवेदन बुझाएको छ । निक्षेपकर्ताको ४ अर्ब ९० करोडमध्ये ३ अर्ब २० करोड बैंकको भोल्टबाट नै विभिन्न नक्कली कागजपत्र बनाएर बाहिर निकालिएको निष्कर्ष प्रहरीले निकालेको छ ।
अनुसन्धानका लागि सीआइबीको टोली कर्णाली विकास बैंकको केन्द्रीय कार्यालय रहेको नेपालगंज पुगेको थियो । प्रहरीले बैंकका सञ्चालक, कर्मचारी र अन्य व्यक्ति गरेर १११ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ । उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । बैंकको रकम घोटाला प्रकरणमा अहिलेसम्म ४ जना प्रहरी हिरासतमा छन्। बैंकका सञ्चालक राजेन्द्रवीर राय जेठ १८ गते पक्राउ परेका थिए । उनी बैंक सञ्चालक समितिका पूर्वअध्यक्ष समेत हुन् । यस्तै एक महिनापछि अर्का पूर्वअध्यक्ष पशुपति दयाल मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बैंकको सुपरिवेक्षणमा गएका नेपाल राष्ट्र बैंकका तत्कालीन कर्मचारी भुवन बस्नेत पनि हिरासतमा छन् । राष्ट्र बैंकबाट अवकाश पाइसकेका बस्नेतलाई प्रहरीले साउन २ गते पक्राउ गरेको थियो । कर्णाली विकास बैंकका सञ्चालकहरूले बैंकबाट निकालेको पैसा भारतको बैंकमा समेत जम्मा गरेको देखिएको छ ।
करिब ५० लाख रुपैयाँ भारतका विभिन्न बैंकमा जम्मा गरेको भेटिएको एक अनुसन्धान अधिकृतले जानकारी दिए । प्रहरीले भारतीय अधिकारीहरुको सहयोगमा बैङ स्टेटमेन्ट समेत मगाएको छ । सीआइबीले अनुसन्धान प्रतिवेदनमा राष्ट्र बैंकको सुपरिवेक्षणमाथि प्रश्न उठाएको छ ।
प्रहरीले सुपरिवेक्षणमा गएका कर्मचारीलाई सरकारी साक्षी बस्न बोलाउँदा राष्ट्र बैंकको नेतृत्वले नै नपठाउने जवाफ दिएको थियो । सीआइबीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्ने प्रक्रिया अगाडि बढाउनेछ । सरकारी वकिल कार्यालयले थप अनुसन्धानका लागि फाइल फिर्ता गर्न पनि सक्छ ।

.gif)