sevenstartv.com ५ पुष २०८२, शनिवार

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने

३ साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडाैं ।  पोखरा-मुुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । 

आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । विजयपुर खोला पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ भने सेती पुलको भौतिक प्रगति ४८ प्रतिशत पुगेको उनले जानकारी दिए । विजयपुर पुल बन्न अझै पाँचदेखि छ महिनासम्म लाग्ने प्रमुख कुँवरले बताए ।

आगामी भदौमा तीनवर्षे ठेक्का अवधि सकिन लागेको सेती पुलको भौतिक प्रगति पनि न्यून देखिएको छ । विसं २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । पुलको डिजाइन स्वीकृतदेखि मापदण्डभित्रका संरचना हटाउनेसम्मका काममा ढिलाइ भएकाले पुल समयमै बन्न नसकेको प्रमुख कुँवरले बताए । 

केबल-स्टेड प्रविधिको उक्त पुलमा सब–स्ट्रक्चरको काम सकिएको र अहिले डाउनस्ट्रिम पुलमा सुपर–स्ट्रक्चरको काम भइरहेको उनको भनाइ छ । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकमा अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुई वटा सिग्नेचर पुल बन्ने भएका हुन् ।  

एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा पुल निर्माणको काम भइरहेको हो । पुलमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो । पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पश्चिम खण्डमा पोखराको सेती र पूर्वी खण्डतर्फ तनहुँको मादी नदीमा सिग्नेचर पुल निर्माण भइरहेको हो ।  

 पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ साल वैशाखदेखि विस्तार तथा स्तरोन्नति सुरु गरिएको थियो । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा हालसम्म भौतिक प्रगति ८६ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने)मा ५५ दशमलव १० प्रतिशत पुगेको छ । कुल ४१ दशमलव ४५ किमी दूरीको पूर्वी खण्डमा कालोपत्रको काम सकिए पनि सडक मार्किङ, सौन्दर्यीकरणलगायत काम बाँकी रहेको जनाइएको छ । 

पूर्वी खण्डमा तेस्रोपटक थपिएको म्याद गत असार २९ मा सकिएपछि पुनःम्याद थपको प्रक्रिया अगाडि बढाइएको आयोजना कार्यालयले जनाएको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको पश्चिम खण्डमा हालसम्म ३६ दशमलव ५ किमी एकतर्फी (दुई लेन) सडकमा पहिलो तहको कालोपत्र भइसकेको प्रमुख कुँवरले बताए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्