sevenstartv.com ५ पुष २०८२, शनिवार

पहिरोले तातोपानी सडक अवरुद्ध

२६ असार २०८२, बिहिवार स्टार संवाददाता

 सिन्धुपाल्चोक ।  नेपाल–चीन जोड्ने मुख्य नाका तातोपानी सडक पहिरोको कारण पूर्ण रूपमा अवरुद्ध  भएको छ । भोटेकोशी २ इकुमा  खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

सिन्धुपाल्चोक प्रहरी प्रमुख रामेश्वर कार्कीले बिहीबार बिहान ५ बजे भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको  जानकारी दिएका छन् ।  ‘माथिबाट पहिरो तलबाट भासिएको छ, तलबाट माटो थेगिने वाल नलगाई सडक खुलाउन समस्या छ’ उनले भने, ‘सडक खुलाउने बारेमा सडक विभागसँग समन्वय भइरहेको छ ।’

सडक पूर्णरुपमा बन्द भएपछि तातोपानी नाका हुँदै राजधानी जान लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान र एम्बुलेन्स पनि रोकिएका छन् ।

बुधबार मात्र केरुङ नाकामा रोकिएका पर्यटकलाई कोदारी नाका हुँदै काठमाडौं पठाइएको थियो । चीनतर्फबाट आएको बाढीले केरुङ नाकाको संरचना भत्काइदिएपछि त्यस नाकाबाट नेपाल आउन लागेका पर्यटकहरुलाई सिन्धुपाल्चोकको कोदारी नाकाबाट भित्र्याइएको थियो । तर केरुङ र कोदारी(तातोपानी नाका दुवैतर्फको सडकमा  क्षति भएपछि चीनसँगको सडक सम्पर्क विच्छेद भएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्