रसुवामा आएको बाढीका कारण उद्धार र राहतमा सहभागी हुन माओवादी नेता-कार्यकर्तालाई प्रचण्डको निर्देशन
बेपत्ताको खोजीका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग माग
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रसुवामा बाढीले पुर्याएको क्षतिप्रति दु ख व्यक्त गरेका छन् । उनले माओवादी केन्द्र पार्टीका सबै तहका नेता-कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन पनि दिएका छन् ।
उनले सामाजिक सन्जाल फेसबुकमार्फत् सो निर्देशन दिएका हुन् । प्रचण्डले उद्धार, राहत र बेपत्ताको खोजीका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग माग समेत गरेका छन् ।
‘भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्वपूर्ण संरचनाहरूमा गम्भीर क्षति पुगेको छ । बाढीले भएको क्षतिप्रति म गहिरो दुस्ख व्यक्त गर्दछु,’ प्रचण्डले भनेका छन्, ‘प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार, राहत र बेपत्ताको खोजीका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु ।’
मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा, सरकारले उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको उनले बताए । साथै उनले सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघ संस्था र नागरिकहरूलाई संकटको घडीमा एकजुट भएर कार्य गर्न अपिल गरेका छन् ।

.gif)