अमेरिकाबाट कम्तिमा ४० नेपाली डिपोर्ट
काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज काठमाडौं आउँदैछन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको छ ।नेपालको अध्यागमन कार्यालय स्रोतका अनुसार नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु आज अपराह्न काठमाडौं आउन लागेको पुष्टि गरे पनि संख्या भने एकिन भएको छैन् । अध्यागमन स्रोतका अनुसार अमेरिकाले डिपोर्ट गरेका नेपालीहरुको संख्या कम्तिमा ४० जनासम्म हुन सक्ने अनुमान छ । सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिए पनि पछि केही नेपालीहरु रोकिएकाले संख्या थोरै कम हुनसक्ने अनुमान गरिएको हो ।
अमेरिकाले चार्टर्ड गरेको विमान डिपोर्ट गरिएका विभिन्न देशका नागरिकहरुलाई छाड्दै–छाड्दै आज अपराह्न सवा चार बजे काठमाडौं आइपुग्ने र फर्किने छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ ।
अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ । ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरुको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।
डिपोर्ट हुनेहरुमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको स्रोतले जनाएको छ । अमेरिकाबाट नेपालीहरुश्र डिपोर्ट हुने श्रृंखला ट्रम्प सत्तामा आउनुभन्दा अगाडि पनि थियो । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।
डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ । दलालविरुद्ध कसैले उजुरी दिएमात्र अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।

.gif)