वायु प्रदूषणको अवस्था हेर्न महानगरले सार्वजनिक गर्याे ‘ड्यासबोर्ड’
काठमाडौं । महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्यांक हेर्न काठमाडौं महानगर पालिकाले वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ ।
विश्व वातावरण दिवसका अवसर पारेर बिहीबार ड्यासबोर्ड सार्वजनिक गरिएको हो । ड्यास बोर्डबाट कामपा क्षेत्रका विभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणले देखाएको पिएम दुई दशमलव पाँच र वायु गुणस्तर सूचकाङ्कको विवरणलाई वास्तविक समयमा हेर्न सकिने छ ।
‘यसबाट अहिले कुन ठाउँमा वायुको गुणस्तरको अवस्था के छ भन्ने जानकारी पाउन सकिन्छ । वायु गुणस्तरको अवस्थालाई विभिन्न छवटा रङले अवस्था संकेतगरिएको छ। जसमा हरियो रङ राम्रो अवस्थाको संकेत हो । पहेँलो रङ मध्यम, सुन्तला रङ बालबालिका, ज्येष्ठ नागरिक, फोक्सोमा समस्या भएका, मुटुरोग भएका जस्ता वर्गका व्यक्तिका लागि संवेदनशील अवस्था हो ।
रातो रङले अस्वस्थ्य अवस्थाको संकेतगर्छ। यो सबैका लागि अस्वस्थ्य अवस्था हो। खासगरी संवेदनशील वर्गका व्यक्तिहरू यसबाट जोगिनुपर्छ । बैजनी रङले सबै व्यक्तिको स्वास्थ्यमा गम्भीर हुनसक्ने संकेतगरिएको छ । यस्तै गाढा खैरो रङ जोखिमपूर्ण अवस्था हो । यसमा सबै मानिसको स्वास्थ्यमा गम्भीर असर हुनसक्छ। खासगरी पहिले नै समस्या भएकाहरूका लागि बढी असर हुनसक्छ ।
वायु गुणस्तर सूचकाङ्कलाई रङ संकेतदिएर स्वास्थ्य सावधानी सूचना बोर्ड राखिने छ। वायु प्रदूषणसम्बन्धी जनचेतनामूलक भिडियो सन्देश राख्ने ठाउँ बोर्डमा छ। यसबाट सवारी साधन प्रदूषण जाँचको प्रगति विवरण हेर्न सकिन्छ ।
क्षेत्रपाटी चिकित्सालय, लैनचौर, कलङ्की चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, थापाथली, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा वायु प्रदूषण मापनयन्त्र जडान गरिएका छन् ।

.gif)