'बुद्धको सन्देश विसङ्गति र विकृतिको अन्त्य गर्ने मूलमन्त्र'

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विश्वमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको सन्दर्भमा भगवान गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
भगवान् गौतमबुद्धको जन्मजयन्तीको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले बुद्धले विश्वलाई दिएको अकाट्य सन्देशले सामाजिक र राजनीतिक क्षेत्रमा देखिने विसङ्गति र विकृतिको अन्त्य गर्ने मूलमन्त्र भएको उल्लेख गरेका हुन् ।
उनले भने, ‘यसलाई सबैले अङ्गिकार गर्दै दृढ सङ्कल्पका साथ अघि बढ्न सक्नु पर्दछ, बौद्ध धर्मावलम्बीले बौद्ध विहार र गुम्बाहरूमा भेला भई सामूहिक उपासना गरी यो जयन्ती मनाउनुले ‘सामूहिकतामा एकता, हाम्रो विशेषता’लाई जीवन्त राख्न सघाउँछ ।’
बुद्ध जयन्ती मानव जीवनमा शान्ति, अहिंसा, प्रेम र आत्मजागरणको महत्त्व दर्शाउने अवसर भएको उनको भनाइ छ । बुद्ध जयन्ती मनाउनुको उद्देश्य आत्मनिरीक्षण गर्न, अज्ञानताको अन्धकार हटाउन र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्नु पनि भएको उपराष्ट्रपति यादवको भनाइ छ ।