विश्वकप खेल्ने लक्ष्यसहित मैदानमा उत्रिँदै नेपाल
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले विश्वकप खेल्ने लक्ष्यसहित आजदेखि थाइल्याण्डको बैंककबाट विश्वकप एसिया छनोट खेल्दैछ ।
आईसीसी महिला टी-ट्वेन्टी विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपालले आज हङकङसँग खेल्न लागेको हो । खेल बिहान सवा ८ बजे थाइल्याण्डको एसियन टेक्नोलोजी मैदानमा सुरु हुनेछ । ९ टोली सहभागी छनोटमा नेपाल रहेको समूहमा हङकङ र बहराइन छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २ दशक पुग्न लाग्दा पनि नेपाली महिला क्रिकेट टोलीको विश्वकप सपना पूरा हुन सकेको छैन । महिला टोलीको अहिलेसम्मको उच्च सफलता नै दक्षिण एसियाली खेलकुद सागको कास्य जित्नु मात्र रहेको छ ।
सन् २०१६ देखि ट्वेन्टी टवेन्टी विश्वकप छनोटमा सहभागी हुँदै आएको नेपाल गत संस्करण एसिया क्षेत्र छनोटको सेमिफाइनलमा थाइल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो । यस पटक समूहमा तुलनात्मक रूपमा कमजोर प्रतिस्पर्धी पाएको नेपाल सामु राम्रो अबसर आएको छ ।
एसिया छनोटमा घरेलु टोलीसहित नेपाल, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएई सहभागी छन् । सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह सी मा बहराइन र हङकङ छन् । छनोट खेलका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली रहेको छ । टोलीमा उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ ।

.gif)