sevenstartv.com ६ पुष २०८२, आइतवार

डोल्पामा यार्सागुम्बा संकलन जेठको पहिलो सातादेखि

२२ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा संकलनको अनुमति दिइएको छ । सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यार्सागुम्बा पाइने जिल्लाका सबै पाटन जेठ ५ गतेदेखि संकलकका लागि खुला गर्ने निर्णय गरेको हो ।

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको आयोजनामा बसेको बैठकले पाटन खोल्नेदेखि संरक्षण र व्यवस्थित गर्नेसम्मका निर्णय गरेको छ। जिल्लाका सयौँ बुकी पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि एक महिनाको समयाअवधि तोकेर सर्वसाधारणका लागि हरेक वर्ष खुला गरिन्छ। यार्सा पाटन आगामी असार ५ गते पुनः बन्द हुने छ । वैशाख तेस्रो सातादेखि नै यार्सागुम्बा संकलन गर्न सर्वसाधारण उच्च हिमाली भेग जाने गरेका छन् । 

यार्सा पाटनहरुमा वन र निकुञ्जले सुरक्षा व्यवस्था मिलाएको छ । संकलनले एक महिनाको समयमा सबै पाटनमा प्रवेश शुल्क तिरेर यार्सागुम्बा संकलनको अनुमित पाउने गरेका छन् । निकुञ्ज क्षेत्रका वन प्रवेशका लागि शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्जले प्रवेश शुल्क लिने छ भने मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुले सेवा शुल्कबापतको छुट्टै शुल्क लिन पाउनेछन् । 

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रका नागरिकले ५०० रुपैयाँ , डोल्पा जिल्लाभित्रका नागरिकले दुई हजार र जिल्लाबाहिरका नागरिकले तीन हजार रुपैयाँ प्रवेश शुल्क तिरेर मात्र वन प्रवेश गर्न पाउनेछन् । एक सामुदायिक वनबाट अर्को सामुदायिक वनमा यार्सा संकलनका लागि प्रवेश गरेमा उक्त सामुदायिक वनले संकलकबाट सेवा शुल्क बापतको छुट्टै ५०० रुपैयाँ लिन पाउनेछन् ।  

डिभिजन वनअन्तर्गतका यार्सा पाटनमा भने सामुदायिक वनले प्रवेश शुल्क लिने गरेका छन् । आइतबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले विभिन्न ११ वटा निर्णयसमेत गरेको छ । निर्णय सबैलाई हित हुनेगरी भएको र कार्यान्वयन हुनेमा पनि विश्वस्त रहेको जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले बताए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्