भारतबाट विद्युत् आयात बढ्यो
काठमाडौं । छिमेकी मुलुक भारतबाट नेपालमा आयात गरिएको विद्युत्को समय चार घण्टा बढाइएको छ ।
भारतको इण्डियन एक्सचेञ्ज मार्केट (आइएक्स)मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म आइरहेको विद्युतको समय चार घण्टा बढाइएको हो । समय बढाएसँगै अब बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति हुनेछ । यसले उद्योगमा हुँदै आएको अघोषित लोडसेडिङ कम हुने भएको छ ।
ऊर्जा मन्त्री दीपक खड्काको प्रत्यक्ष पहलमा नेपाल विद्युत प्राधिकरण र भारत सरकारबीचको समन्वयबाट यो सहमति कार्यान्वयनमा आएको हो । भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको ६०० मेगावाट विद्युतको समयावधि अब बिहान २ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ ।
उक्त निर्णयसँगै अब औद्योगिक क्षेत्रहरूमा साँझ ५ बजेसम्म निर्वाध विद्युत् आपूर्ति सुनिश्चित हुने भएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै देशभित्रै जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको भए पनि औद्योगिक मागलाई पूरा गर्न भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ । नेपाल विद्युत प्राधिकरणले भारत सरकारप्रति सहयोगका लागि आभार प्रकट गर्दै भविष्यमा ऊर्जा क्षेत्रमा दुई देशबीचको सहकार्य अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेको छ।

.gif)