sevenstartv.com ६ पुष २०८२, आइतवार

नागढुंगा सुरुङमार्ग निर्माण २२ दिनदेखि ठप्प

स्थानीयको अवरोधका कारण निर्माणको समयावधी पछि धकेलिएको आयोजनाको भनाई

२४ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम २२ दिनदेखि ठप्प भएको छ । स्थानीयको अवरोधकाकारण सुरुङको निर्माण ठप्प बनेको हो । काम सुरु गर्न न सरकारबाटै कुनै प्रयास भएको छ न स्थानीयले सहजीकरण नै गरेका छन् । 

नेपालकै पहिलो सडक सुरुङमार्ग सञ्चालनमा आउने अन्तिम तयारीमा रहेकै बेला काम रोकिँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्थानीय निकाय उदासिन बनेको छ । सामान्य औपचारिकता पूरा गर्न मात्र समाधानको पहल गरिए पनि दिगो समाधानमा कसैले प्रयत्न नगर्दा मुलुकको पहिलो सडक सुरुङमार्गको काम अघि बढ्न सकेको छैन । आयोजनाले प्रायः पुरा गरिसकेका मागहरु दोहो¥याउँदै स्थानीयले काममा अवरोध गरेका हुन् । 

निर्माणको काम अन्तिम चरणमा रहेका बेला स्थानीयको अवरोधकाकारण निर्माणको समयावधी पछि धकेलिएको आयोजनाले जनायो । स्थानीयले पूरा भइसकेका माग व्यवस्थित गर्नुपर्ने भन्दै चैत ३ देखि काम गर्न दिएका छैनन् । अहिले काठमाडौं र धादिङ दुवैतर्फ काम रोकिएको छ । पटक–पटक वार्तकालागि बोलाउँदा पनि स्थानीयहरु नआएपछि समस्या भएको नागढुंगा–सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । 

माग पूरा गर्नेगरी आयोजनाले सम्बन्धित निकायमा पठाउने भएकाले निर्माणको काम गर्न दिनुभन्दा पनि स्थानीयले नदिएको उहाँको भनाइ छ । स्थानीयले अवरोध गरेको महिना दिन हुन लाग्यो,अहिलेसम्म समाधान निकालिएको छैन । पटक-पटक स्थानीयले निर्माणमा अवरोध गर्दा पनि मन्त्रालयले तत्कालको समाधानका लागि पहल गर्ने गरेको पाइएको छैन । 

यसअघि पनि महिना दिनसम्म काम रोकिँदा सम्बद्ध निकाय उदासिन बनेको थियो । निर्माण व्यवसायीले काम रोकिएको अबधीको क्षतिपूर्ति दाबी गरे दैनिक करिब ५० लाखका दरले सरकारले तिर्नुपर्ने जोखिम छ । आयोजनाले पूरा गर्छु भनेका मागसमेत पूरा नगरिदिएपछि स्थानीयले काम रोकेको दाबी चन्द्रागिरी नगरपालिकास्थित वडा नम्बर २ का वडा सदस्य लवराम सुवेदीको छ । 

२०८२ असोजभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी काम भइरहेको थियो । तर बिचैमा स्थानीयले काममा अवरोध गरिदिएपछि समस्या थपिएको हो । अहिले सुरुङभित्र लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माणलगायत काम अन्तिम चरणमा छन् । बलम्बुस्थित किसिपिडी क्षेत्रमा निर्माणको अन्तिम चरणमा रहेको फ्लाइओभरको काम पनि ठप्प बनेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्