हलेसीमा १५ दिने रामनवमी मेला शुरू
काठमाडौं । धार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो ।
रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट दर्शनार्थी हलेसी आउने गरेका छन् । हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहज रूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक तथा प्रहरीसमेत परिचालन गरिएको छ ।
हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानैचट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वार अवस्थित छन् ।
हलेसीमा रामनवमी, शिवरात्रि, बालाचर्तुदशी, हरितालिका तिज, बोलबमलगायतमा ठूलो मेला लाग्ने गरेको छ ।

.gif)