आन्तरिक बसाइँसराइ दर २९ प्रतिशत, सबैभन्दा धेरै पहाडमा
कुल बसाइँसराइ गर्ने व्यक्तिको प्रथम छनौट बागमती प्रदेश (बसाइँसराई)
काठमाडौं । कुल बसाइँसराइ गर्ने व्यक्तिको प्रथम छनौट बागमती प्रदेश बनेको छ । नेपालभित्र आफ्नो जन्मस्थान छोडी अर्को स्थानमा जाने २९ प्रतिशतभन्दा बढी रहेको एक सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयको आन्तरिक बसाइँसराई प्रतिवेदनले नेपालमा २९ दशमलव २ प्रतिशत आन्तरिक बसाईँसराइ रहेको र सबैभन्दा बढी ३२ प्रतिशत आन्तरिक बसाइँसराइ जनसंख्या पहाडमा देखिएको प्रतिवेदनले औंल्याएको छ । यस्तै, तराईबाट २८ दशमलव ९ प्रतिशत र हिमाली क्षेत्रबाट १३ दशमलव ८ प्रतिशत मानिस बसाइँसराइ गरेको देखिएको छ । यस्तै, हिमाली क्षेत्रमा बसाइँ सरी जाने संख्या २०२८ मा ९ हजार ६९८ रहेकोमा ०७८ मा ७५ हजार ५४२ देखिएको छ ।
तर, त्यो क्षेत्रबाट अन्यत्र सरी जाने संख्या अत्यधिक रहेकाले खुद बसाइँसराइ ५ लाख ४३ हजार ९६६ ले ऋणात्मक रहेको प्रतिवेदनले औंल्याएको छ । प्रदेश अनुसारको आन्तरिक बसाइँसराइको आयतनलाई अध्ययन गर्दा २०७८ मा कुल २१ लाख ४२ हजार ३६३ जनाले एक प्रदेशबाट अर्को प्रदेशमा बसाइँसराइ गरको प्रतिवेदनले देखाएको छ । जसमा महिला ११ लाख ५४ हजार नौ सय नौ र पुरूष ९ लाख ८७ हजार ४५४ रहेका छन् । सो अवधिमा बागमती प्रदेशमा बसाइँसराइ गरी आउने ११ लाख ५० हजार ६२६ छ । गण्डकीमा खुद ३ लाख ४३ हजार ५० जना बराबर ऋणात्मक र कोशी प्रदेशमा पनि ३ लाख १८ हजार ७९६ जनाले गर्दा खुद बसाइँसराइ ऋणात्मक भएको प्रतिवेदनमा उल्लेख छ ।
बागमती प्रदेशमा बसाइँसराइ गर्नेको संख्या थपिएको तर गण्डकी र कोशी प्रदेशमा खुद बसाइासराइ गर्नेको संख्या ऋणात्मक देखिएको छ । कुल बसाइँसराइ गर्ने व्यक्तिहरूको प्रथम छनौट बागमती प्रदेश नै देखिएको छ जहाँ ५७ दशमलव ३ प्रतिशत पुरूष र ५० दशमलव ६ प्रतिशत महिला अन्यत्रबाट सरेर आएका देखिन्छन् । ‘बागमतीबाहेक अन्य छ प्रदेशमा बसाइँ सर्नेको संख्यामा महिला अधिकतम रहेका छन् ।
एक प्रदेशबाट अर्को प्रदेशमा बसाइँ सर्नेमध्ये सबैभन्दा बढी गण्डकीमा देखिन्छन् जहाँबाट पुरूष २३ दशमलव ५ प्रतिशत र महिला २५ दशमलव ७ प्रतिशत गएका देखिएको प्रतिवेदनमा उल्लेख छ । कोशी प्रदेशबाट १७ दशमलव ६ प्रतिशत पुरूष र २० प्रतिशत महिला बसाइँ सरेर गएका देखिन्छन् ।

.gif)