sevenstartv.com ६ पुष २०८२, आइतवार

लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन अर्थमन्त्री पौडेलको भनाई

कार्यान्वयन योग्य कार्यक्रम तथा योजना बजेटमा समावेश गर्न सुझाव

१९ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन्  ।  

आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणसम्बन्धी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुनेभन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजना आवश्यक भएको बताएका हुन् । 

उनले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै वितरणले मात्र उचित प्रतिफल दिन नसक्ने बताए । सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमलाई गम्भीर रुपमा समीक्षा गर्न जरुरी रहेको भन्दै उनले विभिन्न मन्त्रालय र निकायसँग भएका कार्यक्रमलाई एकीकृत गर्नुपर्नेमा जोड दिएका छन् ।

श्रम, रोजगार तथा सामाजिकमन्त्री शरतसिंह भण्डारीले रेमिट्यान्सलाई अझ बढी व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै वैदेशिक रोजगारबाट फर्किएकाको सीप सदुपयोग र आन्तरिक रोजगारीका लागि प्राथमिकता दिनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा गरी अघि बढ्न आवश्यक भएको धारणा राखे । अर्थ सचिव घनश्याम उपाध्यायले सीप विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्