sevenstartv.com ७ पुष २०८२, सोमवार

रिंकु सदा प्रकरण : पञ्चायती गर्ने वडासदस्य कारागार चलान, ६ जनासँग धरौटी माग

१३ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा पक्राउ परेका वडासदस्य कारागार चलान भएका छन् । 

सिरहा जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले वडासदस्य नथुनी साहलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । उनी घटना मिलाउने पञ्चायती बस्ने मध्येका एक व्यक्ति रहेको भन्दै मुद्दा चलाइएको थियो ।

प्रतिवादीहरु रामकृपाल मण्डल, विन्देश्वर साह, कारी भनिने करिया मुसहर, रामदेव सदा र दुई नाबालकलाई भने जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ । रामविनोद मण्डल र कमलेश कुमार दासलाई भने साधारण तारेखमा रिहा गर्न आदेश भएको छ ।

उनीहरुविरुद्ध जातिय छुवाछुत तथा भेदवभावको कसुर, आत्महत्या दुरुत्साहनको कसुर र जबरजस्ती करणीको मुद्दामा मिलापत्र गराएको कसुरमा मुद्दा चलाइएको थियो । बलात्कारको आरोप लागेपछि पञ्चायत बसेर मिलापत्र गराउन खोजिएकाले मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा २२७ को ९क० अनुसारको कसुरमा उनीविरुद्ध मुद्दा चलाइएको थियो  ।

बलात्कार तथा अपहरणका आरोपी दुई जना र पञ्चायती मिलाउन सहभागी हुने ८ जना गरी १० जना अझै फरार छन् । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । रिंकुको मृत्युको पछाडि सामूहिक बलात्कारको आरोपदेखि घटना दबाउन पञ्चायती मिलापत्र गरेकोसम्म आरोप लागेको थियो । 

आमा र एक भाइका साथ बस्दै आएकी रिंकु २६ माघको राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परिन् । आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी उनै रिंकु त्यसको चार दिनपछि ३० माघ साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्