sevenstartv.com ६ पुष २०८२, आइतवार

विद्यालयमा लगाइएको महायज्ञमा साढे दुई करोड आम्दानी

१० चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । पर्वत जिल्लाको कुश्मा नगरपालिका-१ पाङमा रहेको पाङधैरेनी माध्यमिक विद्यालयमा आयोजना गरिएको गण्डकी महिमा धनधान्याचल ज्ञान महायज्ञमा साढे दुई करोड भन्दा बढी रकम आम्दानी भएको छ ।

विद्यालयमा ठुलो धन राशिको कोष निर्माण गर्ने र त्यसबाट आउने ब्याजबाट विद्यालयका शैक्षिक कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि महायज्ञको आयोजना गरिएको थियो । महायज्ञमा कुल दुई करोड ६१ लाख १८ हजार आठ सय १० रुपैयाँ आम्दानी भएको हो ।

अन्न र जग्गा बाहेक नगद मात्रै दुई करोड १९ लाख ४६ हजार दुई सय ५६ रुपैयाँ सङ्कलन भएको थियो। आम्दानीमध्ये एक करोड ७५ लाख ६४ हजार दुई सय ३१ रुपैयाँ बैङ्कमा राखिएको छ । महायज्ञको आम्दानी र खर्चबारे जानकारी दिन शनिवार विद्यालयमा आयोजित कार्यक्रममा कुल खर्च ४२ लाख ८९ हजार चार सय रुपैयाँ भएको सार्वजनिक गरिएको छ । जसमध्ये महायज्ञमा ३८ लाख ७१ हजार चार सय र विद्यालयमा चार लाख १८ हजार रुपैयाँ खर्च भएको छ ।

महायज्ञमा चन्दाताहरूबाट दिइएकोमध्ये ४१ लाख ६५ हजार २६ रुपैयाँ बराबरका चेक सटही गर्न बाँकी रहेको छ । गत माघ सात गतेदेखि १५ गतेसम्म आयोजना भएको महायज्ञमा दुई करोड रुपैयाँ भन्दा बढी रकम सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । नौ दिनसम्म चलेको महायज्ञमा कथा वाचन आचार्य श्री चैतन्यकृष्ण महाराजले गरेका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्