sevenstartv.com ७ पुष २०८२, सोमवार

पाइप फुट्दा थापाथलीको सडकमा खेर गयो मेलम्चीको ५ लाख लिटर पानी

पाइप फुट्नुका कारण खोज्दै केयूकेएल

२० फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । थापाथली चोक नजिकको भित्रि सडकमा मंगलबार बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का अनुसार पाइप फुटेको केही समयमै पाँच लाख लिटर पानी खेर गएको हो । 

पाइप फुटेको केही समयमै बन्द गर्न सफल भएकाले धेरै पानी खेर जान नपाएको केयुकेएलले जनाएको छ । बिहानै ५ बजे पाइप फुटेपछि त्यस क्षेत्रका केही पसलहरु डुबानमा परेका थिए । सडक र सडक पेटमा क्षति पुगेको थियो । सडकमा ढुंगा–माटो र गिट्टी थुप्रिएको थियो । सडकसमेत अवरुद्ध भएको थियो । त्यसलगत्तै प्रभावित क्षेत्रमा मर्मत तथा सरसफाइ गरिएको छ । 

पाइप लाइन किन फुट्यो भन्ने पत्ता लागिसकेको छैन । कालोपत्रे सडक नै फुटाएर पानी बाहिर आएकोले पानीको चापका कारण फुटेको अनुमान गरिएको केयुकेएलले जनाएको छ । फुटेको पाइपलाइनको मर्मतका लागि खानेपानीमन्त्री प्रदिप यादवले मातहतका निकायलाई निर्देशन दिनुभएको छ । साँझसम्म सञ्चालन गर्ने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ ।

यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो । यसपटक भने समस्या समाधान छिटो गरिएकोले कम खेर गएको हो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्