सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसूस गरिएको थियो । कतिपय मानिस निद्राबाट बिउँझिएर घरबाहिर निस्किएका थिए ।
भूकम्पबाट ठूलो क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिनुभएको जानकारी अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक जना कैदी घाइते भएका छन् । यस्तै कोदारीमा रहेको इलाका प्रहरी कार्यालयको भित्ता चर्किएको पनि प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो ।
यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ । त्यहाँको थप विवरण आउँन बाँकी छ । यसअघि गएको पुस ५ गते बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका केन्द्रले जनाएको छ ।

.gif)