sevenstartv.com ७ पुष २०८२, सोमवार

वीरगन्ज नाका हुँदै एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात

सबै भन्दा बढी डिजेल आयात हुँदा २३ अर्ब १० करोड राजस्व असुली

१४ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाका हुँदै एक खर्ब चार अर्ब ७६ करोड मूल्यबराबरको डिजेल, पेट्रोल, एलपिजी ग्यास, एभिएसन टर्वाइन फ्युल, मट्टीतेल आयात भएको छ ।

गत आवको सात महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालू आर्थिक वर्षको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताउनुभयो । गत आर्थिक वर्षको सात महिनाको अवधिमा भने एक खर्ब तीन अर्ब ९२ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । 

कार्यालयका अनुसार चालू आर्थिक वर्षको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट ३८ अर्ब ६५ करोड राजस्व संकलन भएको थियो । चालू आर्थिक वर्षको सात महिनामा ५१ अर्ब ७९ करोडबराबरको पाँच लाख ८१ सात ७९९ किलोलिटर डिजेल आयातबाट २३ अर्ब १० करोड राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

त्यस्तै चालू आर्थिक वर्षको सात महिनामा २२ अर्ब १४ करोड मूल्यबराबरको दुई लाख ५५ हजार ५४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड राजस्व संकलन भएको छ । चालू आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ९० करोड मूल्यबराबरको १८ करोड २९ लाख ९४ हजार ६२४ किलोग्राम एलपिजी आयात भएको छ । सो आयात हुँदा  तीन अर्ब ९१ करोड राजस्व संकलन भएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्