sevenstartv.com ७ पुष २०८२, सोमवार

नवलपरासी पश्चिममा झडप : प्रहरीको गाडी जलाइयो

१३ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका-३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी नै जलाइएको छ । झडपलाई नियन्त्रणमा लिन रुपन्देहीबाट समेत थप प्रहरी खटाइएको छ । प्रहरीका अनुसार थप मद्दतका लागि ५० जना प्रहरी पठाइएको छ ।

आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो  बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको थियो ।

सोही विषयलाई लिएर आज तनाव बढेको हो । करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुबालाई गत माघमा कुटपिट गरेका थिए । सोही घटनाका कारण उनीहरूबीच द्वन्द्व बढेको थियो । त्यतिबेला वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो ।

सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका युवकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । यो घटनापछि गाउँलेहरू दुई पक्षमा विभाजित भई कुटपिटमा उत्रिएका थिए । प्रहरीले बल प्रयोग गरेर अहिले स्थिति नियन्त्रणमा लिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्