राष्ट्रिय पुरुष रग्बी सेभेन्स प्रतियोगिता फागुन तेस्रो साता चितवनमा हुँदै
विदेशी खेलाडीसहित ८ नेपाली टिम सहभागी हुने
काठमाडौं । गोर्खाली सेभन्स राष्ट्रिय पुरुष रग्बी प्रतियोगिता आगामी यही फागुन तेस्रो साता चितवनको भरतपुरमा हुने भएको छ । गोर्खाली रग्बी क्लबको आयोजना तथा नेपाल रग्बी संघका प्राविधिक सहयोगमा आगामी फागुन १६ र १७ गते चितवनमा गोर्खाली रग्बी सेभेन्स ट्रफी हुन लागेको हो ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । २०७४ सालदेखि संघले आयोजना गरेको विभिन्न राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्दै आए पनि यसपल्ट आफैं व्यवस्थित रूपले प्रतियोगिता सञ्चालन गर्न लागेको क्लवका अध्यक्ष रोहित कार्कीले जानकारी दिए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लव र एपिएफसहित पाँच प्रदेशका साथै आयोजक गरी कुल आठ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।
भरतपुरस्थित कृष्णपुर रंगशालामा प्रतियोगिताका खेलहरू सञ्चालन हुनेछन् । कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदको तयारीलाई लक्षित गरी यो प्रतियोगिता सञ्चालन गरिएको आयोजकको भनाइ छ । सहभागी हरेक टोलीले पाँच जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएको छ । विजेताले दुई लाख तथा उपविजेताले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

.gif)