सुरु भयो सेनाका जनरलहरुको सम्मेलन
राष्ट्रिय सुरक्षा चुनौतीबारे समीक्षा हुने
काठमाडौं । नेपाली सेनाका उच्च अधिकृतहरु सहभागी हुने पृतनापति समन्वयात्मक बैठक जंगीअड्डामा सुरु भएको छ । सेना दिवसको पूर्वसन्ध्यामा जंगीअड्डामा सुरु भएको बैठकमा सेनाका सबै विभाग, महानिर्देशनालय, निर्देशनालयसँगै सबै पृतनाका प्रमुखहरुको सहभागिता छ ।
सम्मेलनमा अहिलेको परिस्थितिमा बदलिंदो सुरक्षा चुनौतिबारे समीक्षा हुने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । उद्घाटन सत्रमा बोल्दै प्रधानसेनापति अशोकराज सिग्देलले विश्वको सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्यौलपूर्ण बन्दै गएको टिप्पणी गरे ।
उनले भविष्यमा देखा पर्नसक्ने सुरक्षा चुनौतिलाई सामना गर्न नेपाली सेनाले पृतनापति सम्मेलनले समयानुकूल विश्लेषण गर्ने बताए । सम्मेलनको उद्घाटनमा सहभागी रक्षामन्त्री मानबहादुर राईले पनि विश्वको बदलिँदो भू–राजनीतिक परिवेश, ध्रुवीकरणले हालको अन्तर्राष्ट्रिय परिवेश तथा विभिन्न स्थानहरूमा चलिरहेको द्वन्द्वहरूले नेपालमा पनि कुनै न कुनै रुपमा प्रभाव पार्ने विश्लेषण गरेका छन् ।
