समितिको निर्देशनले आइपिओ निष्कासन रोकिनु हुँदैनः सांसदहरु
काठमाडौं । संसदीय समितिको निर्देशनले आइपिओ निष्कासन रोकिन नहुने भन्दै सांसदहरुले समितिको ध्यानाकर्षण गराएका छन् । मंगलवार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरुले समितिका कारण सरकारका कुनैपनि निकायको काम कारबाही रोकिनु नहुनेतर्फ सचेत गराएका हुन् । समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याकुमार घिमिरेले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने र सरकारी निकायहरु सरकारप्रति उत्तरदायी हुनुपर्ने बताउनु भयो । उहाँले संसदीय समितिले दिएको कुनैपनि निर्देशन वा पत्रबाट सरकारी निकायहरुको काम रोकिनु नहुने बताउनु भयो । उहाँले समितिले कुनैपनि सरकारी निकायलाई पत्र लेख्ने काम गर्न नहुने बताउनु भयो ।
सरकारी निकायलाई पत्र लेख्ने कुरा सैद्धान्तिक मान्यताको पनि खिलाफ हुने बताउनु भयो । उहाँले सार्वजनिक लेखा समितिले पठाएको पत्रअनुसार धितोपत्र बोर्डले आइपिओ जारी गर्न रोकिएको अवस्था रहेको उल्लेख गर्दै समितिले सरकारी निकायहरुलाई पत्र लेखेर कामकारबाही रोक्न नमिल्ने उल्लेख गर्नुभयो । समितिका काम कारबाहीहरुले सरकारी काम कारबाहीहरुलाई प्रभावित गर्ने, प्रक्रिया अवरुद्ध गर्ने किसिमका पत्राचार गर्न नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकार संसदप्रति उत्तरदायी हुन्छ । सरकारी निकायहरु सरकारप्रति उत्तरदायी हुन्छन् । हामीले कुनैपनि पत्र, चिठी, निर्देशन, आदेश गर्दा हामीले सरकारलाई गर्ने हो । मन्त्रालयलाई गर्ने हो । किनभने उ सिधा संसदप्रति उत्तरदायी हुुनपर्छ ।
हामीले कुनैपनि विभागलाई, कुनैपनि सरकारी निकायलाई पत्र लेख्ने काम गर्नुभएन । त्यो विधिको खिलाफ हुन्छ । यो सैद्धान्तिक मान्यताको पनि खिलाफ हुन्छ । यो निर्णय पनि हाम्रो कानूनी रुपमा वैध हुँदैन । धितोपत्र बोर्डमा हामीले एउटा निर्णय गरेर पत्र पठाएका रहेछौँ । यो बैठकले नै निर्णय गरेको हो । आइपिओ सम्बन्धमा आइपीओ जारी गर्ने सन्दर्भमा हामीले एउटा निर्णय गरेर पठायौँ, हाम्रो निर्णयलाई आधार बनाएर धितोपत्र बोर्डले आइपिओ जारी गर्नै बन्द ग¥यो । अब नियमावली बनाएर मात्रै गर्छु भन्यो । हामीले सरकारलाई सिधा भाषामा कानून बनाउ, कानून बनाएर लागू गर भनेर निर्देशन दिनसक्छौँ । नियमावली बनाएर देउ भन्नसक्छौँ । तर सिधै धितोपत्र बोर्डलाई चिठी लेख्ने काम कानूनी हिसावले पनि राम्रो भएन । सचिवज्युहरुले पनि यो विषयमा ख्याल गर्नुप¥यो, के गर्नुहुने, के गर्न नहुने ? हास्यास्पद हुने काम गर्नुभएन । कानूनको व्याख्या सचिवज्युहरुले नै गर्ने हो । नमिल्ने कुरा नमिल्ने भन्नुपर्छ । यसले गम्भीर समस्या सिर्जना गरेको रहेछ ।
आइपिओ निकाल्ने काम नै बन्द भएको रहेछ । हाम्रो काम सहजीकरण गर्ने हो नियन्त्रण गर्ने होइन । नियमन गर्ने हो । हाम्रा काम कारबाहीहरुले सरकारी काम कारबाहीहरुलाई प्रभावित गर्नेगरी, त्यसको प्रक्रिया अवरुद्ध गर्नेगरी त्यस किसिमका पत्राचार नगरौँ । गरेका छौँ भने सच्याउँछ । समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले समितिबाट दिइने निर्देशनले काम कारबाहीमा समस्या पर्न नहुने उल्लेख गर्नुभयो । काम नै ठप्प हुनेगरी निर्देशन दिन नमिल्ने उहाँको भनाइ छ । अहिले सार्वजनिक लेखा समितिको पत्रकै कारण आइपिओ जारी गर्न मिलेन भन्ने समाचार आइरहेको भन्दै यसमा गम्भीर हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँबाट जारी गरिने कयाँै चिजहरुले समस्या परेको छ ।
काम काज नै ठप्प हुनेगरी निर्देशन दिनुपर्ने की ? नगर्नुपर्ने भन्ने गुनासा आएका छन् । कयौँ कम्पनीहरुको आइपिओ जारी गर्ने कुरामा यहीँको निर्देशनले जारी हुन सकेनन् । हामीले पत्र के लेख्यौँ मलाई थाहा छैन । त्यो पत्रकै कारण आइपिओ जारी गर्न मिलेन भन्ने छ । कामचोर प्रवृत्ति भएकाले यो देखाएर नदिएको हो भने थाहा छैन । सरकारलाई कानून मिचेर काम नगर भनेर छुट पो नदिने हो । चेतावनी दिने हो । यहाँबाट जाने पत्रले कारबाही गर्ने निकाय आफैँ भएजस्तो नबनौँ । सांसद बाँस्कोटाले समितिले सरकारलाई कानून मिचेर काम गर्ने छुट दिन नहुने तर समिति कारबाही गर्ने निकाय जस्तो बन्नु नहुने बताउनु भयो ।

.gif)