माओवादीले १२३ स्थानीय तहलाई नमुना पालिकाका रूपमा विकास गर्ने
आफ्नो दलबाट जितेका जनप्रतिनिधिलाई काठमाडौंमा प्रशिक्षण
काठमाडौं । नेकपा माओवादी केन्द्रले आफूले जितेको स्थानीय तहलाई नमुनाको रूपमा विकास गर्ने गरी तयारी थालेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार माओवादीले फागुन १० गते काठमाडौंमा जनप्रतिनिधिको राष्ट्रिय भेला बोलाएको हो ।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादीले पालिका प्रमुख-अध्यक्ष १२३ र उपप्रमुख-उपाध्यक्ष १३० स्थानमा जितेको थियो । स्थानीय सरकार जनताका सुख-दुःखसँग प्रत्यक्ष जोडिने हुँदा आफूले जितेको पालिकाका जनताका पिरमर्का बुझ्ने, गुनासा सुन्ने, सेवा सुविधा चुस्त दुरुस्त बनाउने र समग्रमा नमुना पालिका बनाउने उद्देश्य रहेको उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए ।
केन्द्रीय कार्यालयको व्यवस्थापनमा हुन लागिएको अभिमुखीकरण भेलामा प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षसहित सम्बन्धित पालिका अध्यक्षहरू सहभागी हुने उहाँले बताउनुभयो । यसैगरी माओवादीले नजितेका पालिकामा भएका बदमासी, भ्रष्टाचार, ढिलासुस्ती लगायत विषयमा प्रभावकारी उपस्थित हुने गरी तयारी गरिएको पोखरेलले बताएका छन् ।
यही मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादीले अघिल्लो पटक जितेको ८ स्थानमध्ये पाँच पद गुमाएर एक पालिका अध्यक्षसहित थप ८ पद जितेको थियो । माघ २७ गते माओवादीले जारी गरेको परिपत्रमा स्थानीय पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला गरी स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने उल्लेख गरिएको थियो ।

.gif)