७ महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर, आम्दानी ४४ र खर्च ४० प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत छ ।
सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो भने १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । तर आयव्यय दुवै कमजोर भएपछि सरकारले अर्धवार्षिक समीक्षा मार्फत् सुरुवाती विनियोजनको तुलनामा ९० दशमलव ९९ प्रतिशत मात्रै बजेट खर्च गर्ने संशोधित अनुमान गरेको छ । सुरुवाती विनियोजनको तुलनामा माघ मसान्तसम्म सरकारको चालु खर्च ४५ दशमलव ८२ प्रतिशत छ ।
चालुगत शीर्षकमा सात महिनामा पाँच खर्ब २२ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा ६८ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ मात्रै खर्च भएको छ । सार्वजनिक ऋणको साँवा र ब्याज तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४४ दशमलव छ प्रतिशत छ । सरकारको बजेट खर्च मात्र नभइ राजस्व सङ्कलन पनि कमजोर छ ।
कूल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको सरकारले माघ मसान्तसम्ममा छ खर्ब ५९ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ राजस्व असुली गरेको छ । सात महिनाको राजस्व सङ्कलन सुरुवाती लक्ष्यको ४४ दशमलव ८३ प्रतिशत हो ।

.gif)