sevenstartv.com ७ पुष २०८२, सोमवार

मध्यरातमा सुधार केन्द्रभित्र कुटपिट : एक युवकको मृत्यु, ७ जना पक्राउ

२ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका-१ भवानीपुरस्थित नव जन्म पुन स्थापना केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । गएराति भएको कुटपिटका क्रममा कलैया उपमहानगरपालिका-९ का धिरेन्द्र भनिने प्रदिप प्रसाद मण्डलको निधन भएको हो ।

सुधार केन्द्रमा राति २ बजे कुटपिट भएको थियो । मृतक मण्डल सुधार केन्द्रमा गत १५ दिनअघि मात्रै भर्ना भएका थिए । सुधार केन्द्रमा भएका अन्य व्यक्तिसँग उनले वादविवाद गरेपछि कुटपिट भएको थियो ।

कुटपिटपछि घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो । त्यहाँ नै चिकित्सकले उनको मृत्यु घोषणा गरेको हो । कुटपिटमा संलग्न अन्य ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कलैया-३ का १९ वर्षीय सरफराज मन्सुरी, कलैया-४ का २२ वर्षीय निरज सरार्फ, कलैया-६ का २० वर्षीय राहुल भनिने महमद आँशु मिया, कलैया-१ का २४ वर्षीय अरुण सरार्फ, कलैया-२ का २१ वर्षीय प्रमेश्वर साह, कलैया-३ का २९ वर्षीय तमन्ना अली र कलैया-१ का १९ वर्षीय सागर गुप्ता रहेका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्