नेप्से परिसूचक ७.२६ अंकले घट्याे
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७.२६ अंकले घटेको छ । आज नेप्से २ हजार ६७८ मा कायम भएको छ । अघिल्लो दिन बजार जम्मा १ दशमलव ८६ अंक बढेको थियो । बजार घट्दा आज कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन ८ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९२ करोडको सेयर किनबेच भएको छ । ७६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्स सेक्टर सबैभन्दा धेरै १ दशमलव ८८ प्रतिशत बढ्यो । त्यस्तै लगानी शुन्य दशमलव ५२ र माइक्रोफाइनान्स शुन्य दशमलव १७ प्रतिशत बढे । अरु सबै सेक्टर घटेका छन् ।
बैंकिङ शुन्य दशमलव २३, विकास बैंक शुन्य दशमलव ९५, होटल तथा पर्यटन शुन्य दशमलव ५८, हाइड्रोपावर शुन्य दशमलव ९०, जीवन बीमा शुन्य दशमलव १४, उत्पादन शुन्य दशमलव ४७, निर्जीवन बीमा शुन्य दशमलव ८७, अन्य शुन्य दशमलव १० र व्यापार समूह शुन्य दशमलव ०१ प्रतिशत घटे । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, मातृभूमि लघुवित्त र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।
बाराही हाइड्रोपावरको मूल्य ६ दशमलव ७७ प्रतिशत बढ्यो । हालै सूचीकृत गार्डियन माइक्रोलाइफको मूल्य प्रतिकित्ता ४८६ रुपैयाँ ६० पैसा पुगेको छ । न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ४ दशमलव ९, रिभर फल्स पावरको ४ दशमलव १० तथा एनएलजी इन्स्योरेन्सको ३.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, राधि विद्युत्, सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्स क्रमशः अगाडि रहे ।

.gif)