निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट संख्या बढाउने आयोगको तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट संख्या वृद्धि गर्ने विषयमा छलफल गरेको छ ।
बैठकमा निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने यसअघिको आयोगको निर्णय कार्यान्वयनको सहजीकरणका लागि विदेशी विद्यार्थीको संख्या बढाउने प्रस्ताव आएको हो । यसबारे छिट्टै बस्ने आयोगको बैठकमा प्रस्ताव आउनेछ ।
हालसम्म मेडिकल कलेजहरूले १० प्रतिशतको संख्यामा विदेशी विद्यार्थी अध्यापन गराउने प्रबन्ध रहेको छ । यसअघि यही माघ २५ गतेको बैठकले आवासीय चिकित्सकहरुको आन्दोलनको माग सम्बोधन गर्दै निजी मेडिकल कलेजले सरकारी सरह मासिक ४८ हजार ४३६ निर्वाह भत्ता कायम गर्नुपर्ने निर्णय गरेको थियो ।
चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुगमन, प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थाको विद्यार्थी सिट संख्या र शिक्षण शुल्क निर्धारणसम्बन्धी कार्यहरू गर्दै आएको आयोगको बैठकले स्नातकोत्तर तहमा २०९ सिट संख्या थप गर्ने निर्णय गरेको छ । यस्तै बैठकले नर्सिङ शिक्षाको अध्ययन अध्यापन तथा क्षमता विस्तारसम्बन्धी कार्यदलको प्रतिवेदनलाई पारित गरेको छ भने शैक्षिक संस्था र कार्यक्रम गाभ्ने मापदण्डका विषयमा बैठकमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले सरकारले सबै विद्यार्थीलाई निःशुल्क पढाउन नसक्ने र निजी कलेजको पनि साथ लिन आवश्यक पर्ने भएकाले उठेका समस्याहरूलाई थप गृहकार्य गरेर निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए ।

.gif)