रिलायन्स स्पिनिङ मिल्सको प्रतिसेयर आम्दानीमा सुधार
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको प्रतिसेयर आम्दानीमा उल्लेख्य सुधार भएको देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ पहिलो त्रैमास (साउन-असोज) सम्म प्रतिसेयर आम्दानी १९.९५ रुपैयाँ थियो । दोस्रो त्रैमास पुग्दा यस्तो आम्दानीमा सुधार भई २२.१९ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
गत आव २०८०/८१ मा समग्र अर्थतन्त्रमा आएको मन्दी, उद्योगमा निरन्तरको विद्युत् कटौती लगायत कारण प्रतिसेयर आम्दानी खस्किएकोमा चालु आव पहिलो त्रैमासबाटै यसमा उल्लेख्य सुधार हुँदै गएको देखिएको छ । सिमेन्ट सहित अन्य उत्पादक कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष पनि सुधार हुन सकेको छैन । रिलायन्सले भने यस वर्ष निरन्तर सुधार गर्दै गएको देखिएको छ ।
सुनसरी इटहरी-१२ खनारस्थित रिलायन्स स्पिनिङ मिल्स उत्कृष्ट निर्यातकर्ताका रूपमा सम्मानित हुँदै आएको छ । २०८०/८१ मा सबैभन्दा धेरैलाई रोजगारी दिएको भन्दै रिलायन्सले अवार्ड प्राप्त गर्न सफल भएको थियो ।
रोजगारदाता उद्योगका रूपमा रिलायन्सलाई समुद्रपार निकासी पैठारी संघले उक्त सम्मान गरेको थियो । रिलायन्सले औद्योगिक व्यवसाय ऐन २०४९ बमोजिम चैत २०५१ मा दर्ता भई साउन २०५४ देखि उत्पादन थालेको थियो । गोल्यान र एमएस गु्रपको संयुक्त लगानी तथा सुपरीवेक्षणमा सञ्चालित उद्योगले यस आवमा निर्यात वृद्धि हुने अपेक्षा राखेको छ ।
कम्पनीले उच्च आत्मविश्वास साथ औद्योगिक इमान्दारिता कायम राख्दै ग्राहक माग अनुसार उच्च गुणस्तरीय धागो उत्पादन गरिरहेको जनाएको छ ।

.gif)