त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी शनिबारदेखि दैनिक १६ घण्टा सञ्चालन हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी शनिबारदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल अब आगामी शनिवारदेखि जम्मा ८ घन्टा बन्द हुने विमानस्थलले जनाएको छ ।
अब रातिको ११ बजेदेखि बिहान ७ बजेसम्म मात्रै त्रिभुवन विमानस्थल बन्द हुनेछ । विमानलस्थमा भइरहेको निर्माणको कार्यमा प्रगति भएसँगै उडान समय बढ्ने र विमानस्थल बन्द हुने समय घट्ने भएको हो । अब थपिएको समयमा भारतका दुई वटा वायु सेवा कम्पनी स्पाइस जेट र एअर इन्डिया एक्सप्रेसले पुनः उडान गर्न प्रस्ताव राखेका छन् ।
उडान समय बढ्ने भएसँगै आन्तरिक र विदेशी वायु सेवाको उडान समय पनि बढ्ने भएको छ । त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय जहाजका लागि एप्रोन, समानान्तर ट्याक्सी वे, ह्यांगर निर्माण लगायतका पूर्वाधार निर्माणका लागि धावन मार्ग नै बन्द गरेर काम भइरहेको छ । आगामी चैतसम्ममा उडान बन्द गरेरै गर्नुपर्ने कामहरू सकिनेछन् । त्यसपछि एकातिर उडान हुने र अर्कोतिर काम पनि भइरहने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

.gif)