खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा हुँदै आएको अवरोध हट्ने
काठमाडौं । खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा हुँदै आएको अवरोध हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बसेको सर्वपक्षीय बैठकअनुसार स्थानीय तहले हेलिप्याडमा रहेका अवरोध हटाएपछि उद्धार उडान सुरु भएको हो ।
बैठकमा नेपाल वायुसेवा सञ्चालक संघ, सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण सोलुखुम्बु कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका र अन्य सरोकारवाला पक्षबीच बसेको सर्वपक्षीय बैठकले अहिले हेलिप्याडमा देखिएको अवरोध स्थानीय तहले हटाउने र वायुसेवा सञ्चालक कम्पनीले उद्धार उडानलाई अवरोध हटे लगत्तै सुचारु गर्ने सहमति भएको थियो ।
यो सहमतिपछि पछिल्लो दुई दिनमा गाउँपालिका समेतको सहयोगमा हेलिप्याडको अवरोध हटाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिनुभयो । यो सँगै अब उद्धार उडान सुरु भएको उहाँको भनाइ छ ।
यसअघि जनवरी १ देखि सो क्षेत्रमा हेलिकोप्टर उडान ठप्प भएको थियो । राष्ट्रिय निकुञ्जले वातावरण र वन्यजन्तुको संरक्षणमा असर गरेको तथा गाउँपालिका तथा स्थानीयले रोजगारीमा असर परेको भन्दै हेलिकोप्टर सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए ।

.gif)