sevenstartv.com २९ मंसिर २०८२, सोमवार

भारत रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो, सबैको सनाखत

११ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । भारतको महाराष्ट्र राज्य अन्तर्गत जलगाउँ जिल्लाको परधाडे स्टेसन नजिकै भएको रेल दुर्घटनामा परी मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ ।परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा अछामका ४ जना, कैलालीका २ जना र बाँकेका एक जना रहेका छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा अछाम मंगलसेनका ११ वर्षीय हिमुनन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामी रहेका छन् ।

 रेल दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी रहेका छन् । यसै गरी बाँकेको डंडुवाका ३२ वर्षीय राधेश्यामको पनि मृत्यु भएको छ । दुर्घटनामा परी ४ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले  जनाएको छ । 

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचारका लागि सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यहि माघ ९ गते साँझ भएको रेल दुर्घटनामा परि १२ जनाको मृत्यु भएको थियो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्