महाभारतमा आगलागी : सेना परिचालन
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।
जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा आगलागीका कारण फैलिएको ओगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ ।
आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो ।
त्यस क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी, महत्त्वपूर्ण रूख, जङ्गली जनावर तथा चराको वासस्थान रहेको यस क्षेत्रलाई जोगाउन आवश्यक छ । आगलागी भएको स्थानबाट मानवबस्ती करिब चार किलोमिटरको दूरीमा रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ ।

.gif)