sevenstartv.com ७ पुष २०८२, सोमवार

चालू आर्थिक वर्षको ६ महिनामा नेपाललाई २५ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता, ३५४ उद्योग दर्ता

८ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८१/०८२ पहिलो ६ महिनामा २५ अर्ब ७७ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । 

उद्योग विभागका अनुसार पुस मसान्तसम्म ‘अटोमेटिक रुट’ र ‘अप्रुभल रुट’ बाट गरी कुल २५ अर्ब ७७ करोड ६४ लाख बराबर लगानी प्रतिबद्धता आएको हो । यस अवधिमा ३५४ उद्योग दर्ता भएका छन् । दर्तामध्ये अटोमेटिक रुटबाट मात्र १५४ उद्योग दर्ता भएका छन् । यो रुटबाट २ अर्ब ३८ करोड रुपैयाँ र अप्रुभल रुटबाट २३ अर्ब ३९ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । 

यो सँगै नेपालमा कुल वैदेशिक लगानी ५ खर्ब ४५ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । स्वीकृत लगानीका लागि ६ हजार ७५३ उद्योग दर्ता भएको विभागले जनाएको छ । तीमध्ये अधिकांश साना उद्योग छन् । साना उद्योग संख्या ३४५ छ । मझौला उद्योग संख्या ५ र ठूला उद्योग ४ रहेको विभागको तथ्यांक छ । यसरी आएको लगानी प्रतिबद्धतामध्ये पनि पर्यटनमा ठूलो हिस्सा छ । 

पर्यटनमा कुल १५७ उद्योग दर्ता भएका छन् । यो कुल संख्याको ४४ प्रतिशत हो । त्यस्तै, सूचना प्रविधिमा ११९, सेवा क्षेत्र ४५, उत्पादन २५ र कृषि क्षेत्रमा ६ उद्योग दर्ता भएको देखिन्छ । ऊर्जा र खनिजमा भने ६ महिनासम्म एफडीआई आएको देखिएको छैन । पूर्वाधारमा २ उद्योग दर्ता भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्