२७ औँ भूकम्प सुरक्षा दिवस मनाइँदै
काठमाडौं । आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यसपाली ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् ।
१९९० साल माघ २ गतेको महाभुकम्पको सम्झनामा २०५५ सालदेखि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । नेपालमा मात्रै साढे आठ हजार जना भन्दा धेरैको ज्यान लिएको १९९० सालको भूकम्पबारेमा धेरै अभिलेखहरु पाइदैन । अहिलेको पुस्ताले भोगेको विनासकारी भूकम्प २०७२ सालको हो । यो भूकम्पमा पनि झण्डै नौ हजार नागरिकले ज्यान गुमाएका थिए । भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो ।
अझै पनि नेपाल भूकम्पको उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी बनाउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन–२०७१ तर्जुमा गरिएको छ । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूकम्पविद् डा.मुकुन्द भट्टराईका अनुसार भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रुपमा कार्यान्वयन गर्न जरुरी छ ।
उनले भूकम्पको सम्भाव्य अवस्थालाई पूर्वआंकलन गरी प्रभावकारी र तालिम प्राप्त उद्धारक एवम् तत्काल राहतको आवश्यकतालाई समेत तयारी अवस्थामा राख्नु पनि उत्तिकै आवश्यक रहेको बताए ।

.gif)