आजका प्रमुख सात समाचार
काठमाडौं ।
कुरा नेतृत्व परिवर्तनका
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेतृत्व हस्तान्तरणको कुरा बलियोसँग उठेको छ ।
पार्टीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका हुन् ।
पार्टीको विधान लेखनको बेलादेखि नै नेतृत्वसँग फरक मत राख्दै आएका उपमहासचिव शर्माले पार्टीमा समस्या आउनुमा विधि र पद्धति अनुसार पार्टी नचल्नु, जनयुद्धमा लडेका योद्धाहरूको व्यवस्थापन गर्न नसक्नु, पार्टीभित्र फरक मत राख्नेलाई दबाउन खोज्नु कारण देखाएका छन् ।
उनले पार्टी निर्माणका लागि विधान पुनर्लेखनका साथै नेतृत्वको कार्यकाल तोकिनुपर्ने प्रस्ताव राखेका थिए । अर्का उपमहासचिव वर्षमान पुनले तत्काल अध्यक्ष प्रचण्डको विकल्प खोज्ने अवस्था नभए पनि अबको नेतृत्व अविच्छिन्न हुन नहुने विचार राखेका छन् ।
पुनले एक वा दुई कार्यकाल अध्यक्ष बन्ने गरी विधानमै तोकिनुपर्ने बताए । सचिव राम कार्कीले अहिलेको नेतृत्व र संगठनबाट समाजवादी क्रान्तिको नेतृत्व लिन नसक्ने भन्दै नेतृत्वको लागि नयाँ पुस्ता तयार हुनुपर्ने भनाइ राखेका थिए । शर्मा, पुनमात्र नभइ अधिकांशले अबको नेतृत्वमा कार्यकाल तोकेरै जानुपर्नेमा बहस केन्द्रित गरेका थिए ।
शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताएका हुन् ।
उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाई बहुमत चाहिने भएकाले सरकारको बहुमत नपुग्ने बताए । उनले दुवै सदनमा बहुमत पु¥याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताए ।
नेता कोइरालाले संविधान संशोधन गर्दा नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताए । उनले अहिलेको लडाईं प्रतिनिधित्व, पहिचान र पहुँचको लडाँइ भएको उल्लेख गर्दै संविधान संशोधनमा यो कुरालाई पनि बिचार पु¥याउनुपर्नेमा जोड दिए । नुभयो ।
भारतीय विदेश सचिव
नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव बिक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन् ।
आइतबार अपरान्ह राष्ट्रपतिसँग भएको भेटमा नेपाल र भारतबीच रहेको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवब्क्रा बसन्तप्रसाद पन्थीले जानकारी दिए । सचिव मिश्रीले आइतबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका छन् ।
आइतबार बिहान काठमाडौं आइपुगेका विदेश सचिव मिश्रीले प्रधानमन्त्रीसँग सिंहदरबारको ग्यालरी बैठकमा भेट गरेका हुन् । नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
स्वास्थ्य बीमा
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई बढाएर कम्तिमा ५ लाख पु¥याउने घोषणा गरेका छन् ।
स्वास्थ्य बीमा कार्यक्रमलाई आम नागरिकको पहुँचमा पु¥याउने गरी त्यसको नीतिगत र कानूनी व्यवस्थापनमा पुनरावलोकन पनि गर्नेगरी कार्ययोजना तय गरिएको मन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलले सरकारले भिन्नभिन्न कार्यक्रममार्फत निःशुल्क वा सहुलियत रुपमा स्वास्थ्य सेवा दिइरहेकामा सबै सेवा र सामाजिक सुरक्षाका कार्यक्रमलाई विमाको छाता भित्र राख्न आवश्यक प्रवन्ध गरिने पनि बताए ।
मन्त्री पौडेलले स्वास्थ्य सामग्री खरिदलाई पारदर्शी बनाउन सार्वजनिक खरिद नियमावलीमा पुनरावलोकन गरिने बताए । त्यसका लागि सरकारले स्वास्थ्य सामग्री खरिद सम्बन्धि मापदण्ड नै तय गरेर अघि बढ्ने उहाँको योजना छ ।
श्रममन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन छुट्टै श्रम आप्रवासन नीति बनाउने तयारीमा रहेको बताएका छन् ।
आइतबार डा.गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार पारेको आप्रवासन नीतिको मस्यौदा बुझ्दै यस्तो बताएका हुन् । उनले समितिले तयार पारेको मस्यौदालाई आवश्यक छलफल र सुझावको आधारमा पूर्ण नीतिका रुपमा सरकारले चाँडै ल्याउने प्रतिवद्धता जनाए ।
उनले श्रम क्षेत्रमा देखिएका बेथितिलाई समाधान गर्नको लागि श्रम अदालतको दायरा जिल्ला अदालतहरुमा समेत पु¥याउनुपर्ने आवश्यकता रहेको बताए । उनले वैदेशिक रोजगारीमा जाने प्रणालीलाई सुधार गर्न सरकारले नीतिगत रुपमा सुधार गर्ने पक्षमा रहेको बताए ।
शेयर बजार
धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बढेसँगै आइतबार हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको छ ।
आज २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । गएको साताको मंगलबार २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । उक्त दिनसम्म त्यो नयाँ रेकर्ड थियो । आइतबार नेप्से परिसूचक ९४ दशमलव ५३ अंकले बढेर २८६० दशमलव ९१ विन्दुमा बन्द भएको छ ।
२२५ कम्पनीको सेयर मूल्य बढेको छ । १५ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ । नौ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूक बढेको छ ।
लगानी, माइक्रोफाइनान्स र जीवन बिमा समूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
ओलम्पिकमा सन्तोषी
पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला म्याराथन विधामा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९ औँ स्थान हासिल गरेकी छिन् ।
फ्रान्सको राजधानी पेरिसमा आइतबार सम्पन्न प्रतिस्पर्धामा सन्तोषीले निर्धारित दूरी दुई घण्टा ५५ मिनेट ६ सकेन्डको समय लगाउँदै पुरा गरिन् । ‘वाइल्ड कार्ड’मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभगिता जनाएकी हुन् ।
महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए । नेपालकी म्याराथन धाविका श्रेष्ठले पेरिस ओलम्पिकमा म्याराथनको रुट केही कठिन भएकाले सोचेअनुरुप प्रदर्शन गर्न कठिन बताएको बताएकी छन् । म्याराथन पूरा गरेपछि पत्रकारसँगको कुराकानीमा सन्तोषीले नेपालबाट करियरकै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ आएपनि पेरिस पुगेपछि रुट कठिन भएको जानकारी पाएपछि पूरा गर्न नै चुनौती भएको बताइन् ।
आफ्नो करियरकै चुनौतीपूर्ण कोर्सका रूपमा यो म्याराथनलाई लिएको उनले उल्लेख गरिन् । सन्तोषीले आफू १५ किलोमिटरसम्म समय सुधार गर्न भन्दा पनि दूरी पार गर्न तवरबाट दौडिएको बताइन् ।
उक्त विधाको उपाधि भने नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छिन् । उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन् ।
यस्तै, दुई घण्टा २२ मिनेट ५८ सेकेन्ड लगाएकी इथियोपियाकी असिफा दोस्रो भइन् । केन्याकी ओबिरीले तेस्रो स्थान प्राप्त गरिन् ।
उनले सो दूरी दुई घण्टा २३ मिनेट १३ सेकेन्डमा पूरा गरिन् । यससँगै ओलम्पिकमा नेपाली खेलाडीको चुनौती सकिएको छ ।
यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह, जुडोकी मनिता श्रेष्ठ प्रधान तथा ब्याडमिन्टनका प्रिन्स दाहाल ओलम्पिकबाट बाहिरिसकेका छन् ।



















