sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आजदेखि चुरियामाई सुरुङ खुल्दै

८ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । दक्षिण एसियाकै पहिलो ‘चुरियामाई सुरुङ’ को पुर्ननिर्माण कार्य सकिएको ८ महिनापछि आजबाट सर्वसाधारणका लागि खुला गरिँदै छ । हेटौँडा उपमहानगरपालिका-१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको उक्त सुरुङ मार्ग प्रदेश सरकारले जीर्णोद्धार गरी सञ्चालनका लागि आज हस्तान्तरण गर्न लागेको हो ।  आज १ बजे हुने हस्तान्तरण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा, प्रदेश मन्त्री र जनप्रतिनिधिको उपस्थिति रहने छ । 

हस्तान्तरणपछि उपमहानगरपालिकाले व्यवस्थित चुरियामाई सुरुङ अवलोकनका लागि खुला गर्ने जनाएको छ । सुरुङ संचालनका लागि उपमहानगरपालिकाले कार्यविधि बनाएको छ । उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई निःशुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको छ ।

बागमती प्रदेश सरकारको लगानीमा सुरुङको जोर्णोद्धार कार्य गत जेठमा सकिएको थियो। हस्तान्तरणको प्रक्रिया नै लम्बिएकाले सर्वसाधारणलाई सुरुङ खुला गर्न नसकिएको हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले बताइन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो। मुलुककै ऐतिहासिक सुरुङको बीच भाग भासिएर अत्यन्त जोखिम अवस्थामा रहेको थियो। करिब २२५ मिटर लामो सुरुङ मार्गलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार कार्य गरेको हो ।

 सुरुङ मार्गभित्र विद्युतीय लाइट जडान गरिएको छ । सुरुङ मार्गको दुवै प्रवेशद्वारको ढोका ८ महिनादेखि बन्द रहेका छन् । एक सय ७ वर्षअघि निर्माण गरिएको उक्त सुरुङको छेउमै सुरुङका डिजाईनर ईन्जिनियर थापाको अर्धकदको सालिक निर्माण गरिएको छ। इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गरेका थिए । ७०० मिटर लम्बाइ, ९ फिट चौडाइ र १० फिट उचाइ रहेको उक्त सुरुङ मार्ग मालवाहक सवारी ‘लहरी’ छिर्ने आकारमा निर्माण गरिएको थियो । एक दशकभन्दा बढी उक्त सुरुङ मार्ग हुँदै साना हलुका सवारी साधनहरू आवतजावत गरे । बाराको अमलेखगन्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसंग जोड्ने सडक निर्माण गर्न गर्ने बेला यो सुरुङ निर्माण गरिएको थियो।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्