sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आजदेखि मुग्लिङ–नौबिसे सडकखण्ड ३ घण्टा बन्द हुने

७ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । मुग्लिङ–नौबिसे सडकखण्ड आजदेखि पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ ।

पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय पुस ३ गते नै गरेको थियोे ।

सो निर्णय अनुसार आज देखि आगामी पुस १३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द हुनेछ । सडक बन्द हुने अवधिभर भारी र हलुका सवारी साधनलाई रोकिने स्थानसमेत तोकिएको छ । पोखरेभिर मोड सुधारका लागि गल्छी–बैरेनी र चालिसेमा भारी सवारीसाधनहरुलाई रोकिने छ ।

यसैगरी हलुका सवारी साधन जरेखेत र घाटबेसीमा रोकिने छ । विशालटार मोड सुधारका लागि भारी सवारी साधनलाई मझिमटार र बेनीघाट तथा  हलुका सवारी साधनका लागि चरौदी बजार र विशालटारमा रोकिने छ ।

सवारी साधन रोक्दा र चलाउँदा लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक कार्यालय धादिङले अनुरोध गरेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्