sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

तिहारको चहलपहलसँगै बढ्यो मादलको व्यापार, किन्ने र बेच्नेहरुलाई भ्याइ नभ्याई

१२ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं ।  हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिदै गर्दा यतिबेला मादल व्यवसायीहरुलाई मादल बेच्न चटारो परेको छ । तिहार सुरु भएसँगै देउसी र भैलो खेल्ने गरिन्छ । देउसी भैलोमा मादलको धुनमा नाचगान र रमाइलो गर्ने गरिन्छ । तिहार आउँन केहि दिन मात्रै बाँकी रहँदा अहिले काठमाडौं उपत्यकामा मादल किन्ने र बेच्नेहरुलाई भ्याइ नभ्याई छ । तर मादलको चित्तबुझ्दो बजार नभएको व्यवसायीहरुको गुनासो छ ।  

 
यसवर्षको तिहार सुरु हुन अब केहि दिन मात्रै बाँकी छ । तिहार शुरु भएसँगै देउसी भैलोको स्मरण हुन्छ । देउसीमा मादलको धुनमा नाचगान र रमाइलो गरेको पल याद आउँछ । त्यसैले पनि अहिले काठमाडौंमा मादल किन्नेहरुको भीड छ । अन्य समयमा खोजि नहुने मादल तिहारको समयमा भने किन्ने र बेच्नेहरुको घुइँचो लाग्दछ । विभिन्न जिल्लाबाट मादल खरिद गर्नका लागि काठमाडौं आइपुग्छन् । आफूलाई मन पर्ने मादल छानेर किन्ने र घर लगि तिहारमा रमाउने हेतुले टाढा–टाढाबाट काठमाडौं मादल किन्न ग्राहकहरु आउने गरेका छन् । ओखलढुंगाको केत्तुकेबाट मादल किन्न आएका सुमन तामाङ गाउँ घरमा देउसी, भैलो खेल्नेलाई मादल अनिवार्य हुने र मादल बिना रमाइलो नहुने बताउँछन् । त्यसैले पनि समूहका लागि मादल किन्न आएको बताउँछन् । 

 

काठमाडौंका मादल व्यवसायीहरु गत वर्षको तुलनामा यसवर्ष मादलको व्यापार राम्रो रहेको बताउँछन् । तर केहि व्यवसायीहरुले भने विगतकै मूल्यमा मादल बेचिरहेको र बजार मूल्य चित्तबुझ्दो नरहेको बताएका छन् । २५ वर्ष यता काठमाडौंको वसन्तपुर क्षेत्रमा मादल व्यापार गर्दै आएका मादल व्यवसायी रिपबहादुर कुलले भने गत वर्षको तुलनामा यसवर्ष मादलको व्यापार राम्रो रहेको बताए । १३ सयदेखि १२ हजार सम्मका मादल आफूले पसलमा राख्ने गरेको उनको भनाई छ । यस वर्ष १५ सयको हाराहारीमा मादल बेच्ने आफ्नो लक्ष्य रहेको उनले बताए । मादलको लागि काठ सहजै पाउने भएपनि छाला भने ल्याउन गाह्रो रहेको उनको गुनासो छ । 

 

मादल व्यवसायीहरुका अनुसार एउटा मादल तयार गर्न करिव १० दिन लाग्दछ । काठ खोपेर ढुङ्ग्रो बनाउनुपर्ने भएकोले अत्याधिक मेहनत र समय लाग्ने उनीहरुको भनाई छ । त्यसैले पनि नेपाली लोकबाजालाई सरकारले संरक्षण गर्न जरुरी रहेको मादल व्यवसायी बताउँछन् ।
 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्