चाडबाड लक्षित पुष्पमेला प्रदर्शनी : नेपालमै उत्पादित फूलले किन धान्दैन तिहार ?
काठमाडौं । तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा पुष्प व्यवसायीलाई अहिले चटारो लागेको छ । फूलको उत्पादन र उत्पादन भएको फूललाई आकारप्रकार दिएर कसरी बजारमा लैजाने भन्ने चिन्तामा छन् उनीहरू । यसै सेरोफेरोमा ललितपुरको जावलाखेल र काठमाडौंको भृकुटीमण्डपमा पुष्पमेला प्रदर्शनी चलिरहेको छ । मेलामा व्यावसायिक, गोदावारी फुलको प्रतियोगितात्मक प्रदर्शनी र विभिन्न प्रकारका मौसमी तथा वेमौसमी फूल, फूल फुल्ने तथा नफूल्ने बोट बिरुवा, बीउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, थोपा सिचाई प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी प्रदर्शनी तथा बिक्रीमा राखिएको छ ।
नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा लक्ष्मीपूजा गर्नेदेखि दाजुभाइलाई लगाइदिनसम्म फूलको प्रयोग हुन्छ । यसैकारण पनि पुष्प व्यवसायीलाई अहिले आफ्ना उत्पादन बजारमा कसरी पुर्याउने भन्ने चिन्ता र चटारो छ । कृषिप्रधान देश भनिने नेपालमा उपभोग हुने फूल हामी आफैँले उत्पादन गर्न नसकिरहेको अवस्था छ । ठूला चाडबाडमा फूलका लागि भारतलगायत विभिन्न देशको भर पर्नुपर्ने स्थिथि रहेको छ । तिहार शिवरात्रि र प्रणय दिवसलगायत अवसरमा फूलको व्यापक माग हुने भए पनि अरु वेलामा घाटामा जाने डरले कृषक जोखिम उठाउन तयार हुँदैन् । त्यसैकारण केही फूल विदेशबाट ल्याउनुपर्ने अवस्था रहेको छ । नेपालमा हाल ४८ जिल्लामा लगभग २ सय २१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । तर पछिल्लो समय सीप र प्रविधिको भरपुर प्रयोग गरेर फूल उत्पादन गरे बजारको समस्या नहुने व्यवसायीहरुको बुझाइ छ ।
नेपालमा पुष्प व्यवसाय फस्टाउन नसक्नुमा लगानीको वातावरण बन्न नसक्नु, प्रयाप्त जग्गाको अभावका साथै बेमौसमी फूल फुलाउने प्रविधिको अभाव र अन्य व्यवसायमा चासो र चिन्ता गर्ने राज्यको ध्यान फुल व्यवसायमा कम हुँदा नेपालमा पुष्प व्यवसाय फस्टाउन सकेको छैन । विशेषगरी, बैंक तथा वित्तीय संस्थामा देखा परेको तरलता संकटले यस क्षेत्रमा नयाँ लगानी करिब–करिब शून्यप्रायः अवस्थामा छ भने भएकै उद्यमी पनि पलायनको अवस्थामा पुग्ने अवस्था देखा परेको छ । आजको दिनमा कति ठूलो लगानीमा पुष्पखेती गरिएको छ भनेर कतै बाहिर आएको देखिँदैन । ठूलो पुँजीमा लगानी गर्ने लगानीकर्ता कम छन्, किनभने यसको लगानी उठाउन तत्काललाई सम्भव हुँदैन । फूलमा ९० प्रतिशत आत्मनिर्भर भएको कुरा बाहिर आएता पनि पूर्ण आत्मनिर्भर बन्न नसकेको अबस्था छ । उत्पादन गाउँकेन्द्रित र खपत सहरकेन्द्रित हुनुपर्ने हो । तर, उत्पादन र खपत दुवै सहरकेन्द्रित बन्दा प्रभावकारी बन्न नसकेको पुष्प व्यवसायी बताउँछन् ।
पुष्प व्यवसायीहरूको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल फ्यान र नर्सरी व्यवसायी संघ लगाएत विभिन्न संस्थाले पुष्प व्यवसायमा लागेकाहरूको हकहितका लागि काम गरेको वर्षौं भइसक्यो । पुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले तिहारका बेला प्रत्येक वर्ष फूलको प्रदर्शनी पनि गर्दै आएका छन् । तर फूलको माग बढे पनि फूल व्यवसायको प्रवर्द्धन गर्न नसक्दा फूलको कारोबारमा नेपाल परनिर्भर हुनुपरेको छ ।

.gif)