डेङ्गु नियन्त्रण गर्न आज देशभरका सरकारी कार्यालयमा सरसफाइ गरिँदै
काठमाडौं । सरकारले डेङ्गुको महामारी फैलिन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट यो निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । उनले भने, ‘डेङ्गु फैलिन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान शुरु गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार नै डेङ्गु नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय भएको हो ।’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहान १० बजे आआफ्ना कार्यालय परिसरमा सरसफाइ गरी डेङ्गु नियन्त्रण अभियान सञ्चालन गर्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशका केही जिल्लामा डेङ्गुको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न सरकारले देशव्यापीरूपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थाल्न लागेको जानकारी दिए।

.gif)