अध्यादेश आए रोक्न राष्ट्रपतिसँग विपक्षी दलहरुको आग्रह
काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेश जारी हुने त्रासमा रहेका विपक्षी दलका नेताहरुले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
अध्यादेश रोकिदिन माग गर्दै शीतल निवास पुगेका विपक्षी दलका नेताहरुलाई राष्ट्रपति पौडेलले भने आइहाले बोलाएर परामर्श गर्ने आश्वासन दिएका छन् । प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २ कात्तिकमा विपक्षी दलहरुको बैठक बोलाएका थिए ।
त्यहाँ दलहरुले दल विभाजन सहज हुने गरी सरकारले अध्यादेश ल्याउन सक्ने आशंका व्यक्त गरेपछि सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने निर्णय गरेका थिए । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी र आम जनता पार्टी गरी पाँच दलले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
भेटमा नेताहरुले दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश ल्याउन लागेको भन्दै असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्री ओलीले अहिले कुनै दल फुटाएर एमालेमा मिलाउने आफ्नो योजना नरहेको जवाफ दिएका थिए ।
तर सत्ता घटक नेपाली कांग्रेसको साथ नपाएर मात्र ओली रोकिएको विपक्षीको बुझाइ छ ।
जुन दिन कांग्रेस सभापति शेरबहादुर देउवा तयार हुन्छन्, तत्क्षणमा दल विभाजनसम्बन्धी अध्यादेश आउने उनीहरुको विश्लेषण छ । राष्ट्रपति पौडेलसँग भएको भेटमा पनि विपक्षी दलका नेताहरुले सरकारले कुनै पनि बेला अध्यादेश ल्याउनसक्ने बताए ।
प्रधानमन्त्री ओली बाढी पहिरो प्रभावित जनताप्रति जवाफदेही नभएको र पूर्वाग्रही ढंगले काम गरिरहेको उनीहरुले बताएका छन् । कांग्रेस र एमालेले मुलुकलाई दुई पार्टी प्रणालीतर्फ लैजान लागेको भन्दै उनीहरुले यो लोकतन्त्रका लागि घातक हुने बताए ।
जवाफमा राष्ट्रपति पौडेलले भने संविधानले आफ्नो सीमा तोकेको स्मरण गराए । राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पनि विपक्षी दलका नेताहरुले वर्तमान परिस्थितिबारे जानकारी दिन आफूहरू आएको बताउँदै लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको बताए ।






