कार्तिक ८ गतेदेखि जाउलाखेलमा पुष्प मेला
काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) ले कात्तिक ८ गते देखि १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ । प्रदर्शनी जावलाखेलस्थित मैदानमा ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा ६८ व्यावसायिक स्टल, २ प्रतियोगितात्मक स्टल, ४ अफिसियल स्टल र सेल्फी स्टल १ गरी ७५ वटा प्रदर्शनी कक्ष रहने छन् ।
प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने फ्यानले जनाएको छ । यसअन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरीरफर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा गोदावरीको मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाति रहने छन् । मेलामा नेपालमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएका र यस वर्ष भित्रिएका गोदावरी फूलको केही नयाँ प्रजातिसमेत प्रदर्शनी तथा बिक्री वितरण हुनेछन् ।
यसका साथै यस सिजनमा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा हुनेछन् । ४ दिने प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ । फ्यानले पुष्प व्यवसायको व्यवसायीक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०५१ देखि लगातार पुष्प मेलारप्रदर्शनीको आयोजना गर्दै आएको छ ।








