sevenstartv.com १६ असार २०८३, मङ्गलवार

दशैंमा मामाघर आएका अजय मानन्धर हेटौंडाको होटेलमा मृत फेला

३ कार्तिक २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । दशैंमा हेटौंडास्थित आफन्तको घरमा आएका काठमाडौंका एक जना व्यक्ति होटेलमा मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका-७ चावहिल घर भएका ४७ वर्षीय अजय मानन्धर हेटौंडा उपमहानगरपालिका-२ स्थित पल्पसा प्याराडाइज होटेलमा मृत फेला परेका हुन् ।

मानन्धर २७ असोजदेखि होटेलको ४०५ नम्बर रुममा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । उनी दशैंमा टीका लगाउन हेटौंडास्थित मामाघर आएका थिए । मानन्धर यसअघि पनि हेटौंडा आवतजावत गरिरहँदा सोही होटेलमा बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

शुक्रबार साथीहरुले फोन गर्दा नउठाएपछि होटेलको ढोका खोलेर हेर्दा मानन्धर मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । मृतक अजयको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।