बाढीपहिरोका कारण बिमा कम्पनीहरूमा नौ अर्ब रुपैयाँको दाबी
काठमाडौं । असोज दोस्रो साताको बाढीपहिरोका कारण बिमा कम्पनीहरूमा करिब नौ अर्ब रुपैयाँको दाबी परेको छ । असोज १० गतेदेखि २९ गतेसम्म बिमा कम्पनीहरूमा आठ अर्ब ९८ करोड ३० लाख रुपैयाँको दाबी परेको हो । नेपाल बिमा प्राधिकरणलाई बिमा कम्पनीहरूले बुझाएको विवरणअनुसार बाढीपहिरोबाट तीन हजार २४४ दाबी परेको छ ।
यसमध्ये ९७ वटा दाबीबापतको १७ करोड २८ लाख २८ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । प्राधिकरणका अनुसार बाढीपहिरोबाट प्रभावित कम्पनी तथा व्यक्तिको सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । यो कम्पनीमा एक अर्ब ९५ करोड २९ लाख रुपैयाँको दाबी परेको छ । दि ओरियन्टल इन्स्योरेन्समा एक अर्ब ४५ करोड ६८ लाख रुपैयाँ दाबी परेको छ । त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा एक अर्ब आठ करोड रुपैयाँको दाबी परेको छ । यी तीन कम्पनीबाहेक अरूमा भने एक अर्बभन्दा कम दाबी परेको छ ।
दाबी परेकोमध्ये ६ कम्पनीले १७ करोड २८ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेका छन् । सबैभन्दा बढी दाबी भुक्तानी सम्पत्ति बिमाको भएको छ । सम्पत्ति बिमातर्फ ६ अर्ब ६८ करोड ६७ लाख रुपैयाँ दाबी परेकोमा १६ करोड १० लाख २१ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।
प्राधिकरणले बिमा कम्पनीहरूलाई प्रत्येक हप्ता बाढीपहिरोबाट भएको क्षतिको दाबी भुक्तानी तथा दाबी रकमको विवरण बुझाउन निर्देशन दिएको छ ।






